कथा : रति ( भाग १)
अमर चोकमा बिहानैदेखि हल्ला खल्ला थियो । चोकमै रहेको सालिक नेर मान्छेहरुको भिड बढिरहेको । भिडबाट कसैले 'बिचरा' गर्दै हिडिरहेका थिए ।
" त्यस्तो सद्दे मान्छेले यो के गरेको होला ?" मान्छे आश्चर्य मान्दै थिए ।
" हेर साहु भएर पनि यस्तो दिन आउदो रहेछ ।" कोही सम्पत्तिप्रती कटाक्ष गरिरहेका थिए ।
भिड झनै बढ्दै गयो ।
एकैछिनमा साइरन बजाउदै प्रहरीको भ्यान आईपुग्यो । भिड निकै बढेको थियो । सारा पसलेहरु पसल बन्द राखेर त्यही आईपुगेका थिए , बाटोमा हिड्ने बटुवादेखी , साधनमा हिडेकाहरु चोक वरपर रमिते बनेर बसेका थिए ।प्रहरीले भिडलाई पन्छाउदै बाटो बनायो । डोरी टागेर निषेधित क्षेत्र तयार पार्न तर्फ लाग्यो ।
जाडोको महिना सुरु हुन लागेको थियो । एकाबिहानै हुस्सु बढिरहेको । मान्छेहरु निकै उत्सुक भएर एकै ठाउँमा नियाल्दै थिए जहाँ ठुलो साइनिङ्ग बोर्ड टाँगिएको थियो
"अमर मार्ट "
तीन तल्लाको घरको माथिल्लो तल्लामा डम्बर साहु आज बिहान झुन्डिएको अवस्थामा फेला परेका थिए ।
***
अमर चोक बजारको मुटु हो । पहाडबाट सामान किन्न झर्ने मान्छेहरुको पहिलो रोजाईको बजार । अमर चोकमा नुनदेखी सुनसम्म पाईन्थ्यो । ०४६ सालको आन्दोलनमा यहाँका जनता बहुदलिय व्यवस्थाको निमित्त ज्यानको बाजी राखेर लडे ।
डम्बरको बाबू अमर त्यस ठाँउका नेता थिए । गन्ने मान्ने थिए । सबैले उन्लाई बडा दाइ भनेर आदर गर्थे । मान्छे झोकी स्वभावका भएकाले राजसेनाले उन्लाई मन पराउदैन थिए । पटक पटक अनेक बहाना गरेर जेल हालिसकेका थिए । जिल्लाले मात्र नभएर पार्टीको केन्द्रले समेत उन्लाई उच्च सम्मानले हेर्ने गर्थे । त्यस ठाउँमा पंचायत विरुद्दको आन्दोलन उन्कै नेतृत्वमा भयो । पारीबाट बन्दुक ल्याउने काम उन्कै रोहवरमा हुन्थ्यो । आन्दोलनमा सबैभदा अगाडी उनी नै हुन्थे । आन्दोलनको क्रममा सैनिकले चलाएको गोली उन्कै छातीमा आएर छिर्यो । अमर मुर्छा पर्दै भुईमा लडे । कसैले उठाएर अस्पताल पुर्यायो । अस्पतालबाटै उन्लाई गायव बनाईयो । केही दिनपछि एउटा लास जङ्गलमा भेटियो भन्ने खबर आयो । यो उनै अमरको हो अरे भन्ने सुनियो । सोही दिन नेपालमा प्रजातन्त्र स्थापित भयो । उनै अमरको सम्झनामा चोकको नाम अमर चोक रहन गयो र सहिदको रुपमा उन्को सालिक ठडियो । उनै अमरले चलाएको सानो किराना पसल , अमरकोको किराना पसल हुँदै अमर मार्टमा परिवर्तीत भैसकेको थियो । यो बजारको सबैभन्दा बढी चल्ने पसलहरुमध्ये पर्थ्यो । यहीँ मार्ट चलाईरहेका डम्बर शहरको नामुद धनाढ्यमध्ये एक थिए ।
" डम्बरेले अनेक धन्दा गरेर कमाएको छ , जाबो खाद्यान्न बेचेर पनि कोही यसरी धनी हुन्छ ।" मानिसहरु डम्बरलाई अनेक आरोप लगाउथे ।
***
आज बिहान हरी आफ्नो पुजा सामाग्रीको पसल खोल्न आउदा आफू भन्दा जहिल्यै अगाडि पसल खोल्ने डम्बरलाई देखेनन । पसल पनि बन्द थियो ।
अरु बेला बिहान यतिबेला भेट भएर यी दुई सान्दाइको खाजघरमा चिया पिउदै गफिन पुगिहाल्थे ।चियाको चुस्किसंगै पसल मात्र नभएर जिवनका पनि गफ हुन्थे। उमेरमा डम्बर हरी भन्दा चार वर्ष जेठा थिए यसैले सम्बोधनमा दाइ भन्थे तर व्यवहारमा भने दुई जना साथी जस्ता थिए । डम्बरको परिवारमा अहिले श्रीमती र आफू मात्र छन । डम्बरले उमेरले चालीस टेके पनि बिहे भएको भर्खर दुई वर्ष भएको थियो । श्रीमती हिजो माइत गएकाले घरमा उनी एक्लै थिए । । " डम्बर दाइले आज बिहान पसल खोलेको देखिन , दाइ अहिलेसम्म किन आउनु भएन भनेर उहाँको कोठामा पुग्दा त .....अनि के गर्ने कसो गर्ने भएपछि म आफैले पुलिसलाई खबर गरेर बोलाए ।" हरी मलिन स्वरमा अवस्थाको बारेमा भिडलाई जानकारी गराउदै थिए ।
पुलिस डम्बरको कोठामा पुग्यो । ढोका खुल्लै थियो ।अर्धनग्न अवस्थामा सिलिङ्गको पंखामा झुन्डिएको डम्बरको शरीर , जिब्रो टोकिएको लत्रक्क परेको अवस्थामा । एउटा सिपाहीले क्यामेरा झिकेर फरक फरक एङ्गलबाट फोटो खिच्यो । डोरी काटेर लासलाई भुईमा राखियो । अगिको चोकको भिड यतीबेला ढोकामा आईपुगेको थियो । पुलिसले भिडलाई हटाउने कोसिस गर्दै थिए । कोठाको फोटो खिचियो । प्रहरीले कोठा खानतलासी गर्यो । कोठा एकदम सफा थियो शकांस्पद वस्तु केही फेला परेन । "सुसाइड नोट त छ होला नि" बाहिरको भिड उत्सुक हुँदै गुनगुन गरिरहेको थियो ।'सबैतिरको अवस्था बुझ्दा आत्महत्या गरेको भर्खर ४\५ घन्टा भएको हुनुपर्छ , पोस्टमार्टम गर्ने हो भने अब धेरैबेर राख्नु हुदैन अबेर भयो भने लाशको प्रकृति बिग्रन्छ र हामीलाई घटनाको वास्तविकता बुज्न गार्हो हुन्छ ' प्रहरीसंगै गएको फरेन्सिकले भन्दै थियो । प्रहरीले आवश्यक टिपोट र रिपोर्टिङ गरिसकेपछि लासलाई पोस्टमार्टममा पठाउने तयारी गर्यो ।
***
"डम्बर मरेको होइन उस्लाई मारेका हुन ।" शहरभरी यस्तो खाल्को अट्कलबाजीले स्थान पाईरहेको थियो । घाटीँमा दुई खालको फरक डाम थिए , एउटा डोरीको अनि अर्को डोरीको भन्दा फरक खाल्को । ढोकाबाट चियाएर डम्बरको लास हेर्नेहरुले यो कुरा फैलाएका थिए ।
" हो न हो पक्कै श्रीमती गितालेले मारेर फरार भैइ ।"
नभए बुढा मर्दा कहाँ गैइ उस्की श्रीमती ? उमेरकी थिई , राम्री पनि थिई कसरी यस्तो बुढोसंग बस्न सक्थी र ? शहरभरी यस्तै हल्ला फैलिन थाल्यो ।
प्रहरीले सुरुमा यो आत्महत्या नै हो भन्ठानेर औपचारिकताको लागि पोस्टमार्टममा पठाएर केश क्लोज गर्ने विचारमा बसेको थियो ।
पोस्टमार्टमबाट रिपोर्ट आयो ।
रक्सिमा बीस हालेर पिलाएर हत्या गरेपछि डम्बरलाई झुण्डाइएको थियो ।
इन्स्पेक्टर पदम बहादुर केसीको हातमा यो केश आईपुगेको थियो ।
***
प्रहरी चौकिको पहिलो तल्ला , ढोका खोल्नासाथ सफा सोफा, सोफा अगाडि टी टेबल जहाँ आधा पानी भरिएका दुई ओटा मिनरल वाटरका बोत्तल । सिधा अगाडि टेबलमा ईन्स्पेक्टर पदम बहादुर केसी लेखिएको नेम ट्याग । जहाँ वाकिटकी, डायरी, ल्यापटप , केशका फाईलहरु छिरल्लिएर बसेका थिए ।टेबुलको दाहिनेपट्टि नेपालको राष्ट्रिय झण्डा । टेबलमा हात राखेर ईन्स्पेक्टर कुर्चीलाई तलमाथि गरेर केही गम्दै छन । एकैछिनमा टेबुलमा राखिएको वाकिटकीबाट आवाज आउँछ,
" सर नारायणीको किनारमा एक जना महिलाको शब मिलेको खबर आएको छ । गाउँलेहरुको अनुसार यो लास डम्बरको श्रीमती गिता को हो , ओभर ।
.........................
..............

Comments
Post a Comment