कथा : बा


 रात बिस्तारै सकिदैछ , अब सुर्य पनि कर्ममा जानुपर्छ भनेर नित्यकर्ममा निस्कने कोसिसमा छ । जुनले झिसमिसेमै आजको आफ्नो ड्युटी सकिएको घोषणा अगिनै सुर्यलाई पठाइसक्यो । हिजो दिउँसोको बेमौसमीले सशंकित सुर्यले आजको दिनको पहिलो प्रहर आफ्नो ठाउँमा बादललाई पठाएर सुरुवात गर्ने कि भन्ने ठानेसंगै बादलहरु बिहानै आकासका ड्युटीमा खटिएका छन । बादलको स्वागतमा बिजुलीहरु बेला बेला चम्किदै छन । 

म भने अझै बिस्तारामै छु । झ्यालबाट चिसो हावा छिर्दै छ म सिरकलाई शरीर छोपिने गरि सारेर यो मौसमको मजा लिने कोसिस मा छु ।
सिरक पनि बडो बैमानी छ भन्या शरीर पुरै चिसै छ पैतला तातिसक्यो । हत्तेरिका! पैतला त सिरक बाहिर नै ठिक । घरका मान्छे अगिनै उठेर बाज्नमा उत्रीसके । उफ! यो घरमा शान्ति चाही कहिले हुन्छ ? बिहान उठ्यो सधैंका उस्तै कुरा , भजन गाएर बस्ने उमेरमा सवालजवाफ मात्र चल्छ । एकाबिहानै त नबाज्नु नि हौ , लक्ष्मी आउने बेलामा त भगवानको भक्तिभावमा लिप्त हुनु , कति सम्झाउनु । 
आफ्नो त आज शनिबार मज्जाले सुतम भन्ने हुन्छ । बल्ल तल्ल आउँछ यो एउटा दिन त्यही पनि बिहानै आँखा खुल्दिन्छ ।  यो आखाँलाई पनि किन जान्ने भएर यति छिटो खुल्नुपर्ने हो । थपक्क निदाए हुन्छ त दस बजेसम्म । 
पैताला बिघ्न तात्यो , पानीको लेप लगाउन पर्ने जस्तो । आ होस , जागे पनि बिस्ताराबाट त उठ्दिन । बरु एकछिन सुत्छु । निदाइपोहाल्छु कि । 
(टिङ्ग मोबाइल बज्छ ) कस्ले म्यासेज गर्यो फेरि , एकछिन मोबाइल नचलाई बस्न कति गार्हो हुने हो । आँखा खुल्नासाथ मोबाइलको लक खोलिहाल्नु पर्ने , हुन त संसारका सबै मान्छे यस्तै होलान नि । छ्या म्यासेजको नाममा फेरि ग्रुप म्यासेज बाहेक केही आउदैन । ग्रुप पनि केके हुन , टोल सुधार देखी देश सुधरौसम्मका , घरको छुट्टै ग्रुप , परको छुट्टै ग्रुप , एस एल सी सगै दिएका साथीदेखि काम गर्ने ठाँउका कर्मचारी सम्मका छन । आधाआधी त स्पाममै लगेर राख्देको छु । एका बिहानै ग्रुपमा बोल्न मन कस्लाई लाग्छ ?सायद यिनिहरु वास्तविक जिवनमा साच्चै एक्लो छन होला । नभए त साथी भाइहरुलाई बोलाएर चोकमा चियाको चुस्कीसंगै उताका ,यताका , देशका, नेताका सबै को चर्चा सकाएर यो देशमा केहि गर्न सकिन्न भन्ने निष्कर्ष निकालेर हिड्नुपर्ने । हो यी एका बिहानै ग्रुपमा बोल्न आउनेहरु त साच्चिकै एक्ला नै छन । ग्रुपलाई चलायमान राख्ने अघोषित बेतलबी ड्युटी निभाइरहेका छन । 
मोबाइल त राख्छु , एकछिन सुत्छु । 
(बाहिरबाट हल्लाखल्ला आए जस्तो सुनिन्छ ) ओहो बालाई के भयो फेरि ? यो घरको कुरा मैले कहिले बुज्न सक्दिन । सामान्य भन्दा सामान्य कुरामा दुई अढाई घन्टा कसरी बहस गर्ने भन्ने कुरा कसैले यहाँ आएर सिकोस । मेरो त बासंग बन्दै बन्दैन । जेनेरेसन ग्याप भएर हो कि ? या हामी दुई जनाले एक अर्काको ठाउंमा बसेर एक एर्कालाई बुज्ने कोसिस नगरेर हो ? कुरा प्रायः हुँदै हुदैन , भयो भने सवालजवाफ मात्र । हुन त मान्छे बूढो भएपछी सानो सानो कुरामा पनि निउ खोज्छन भन्छन । उमेर त हाम्रा बाको पनि पेन्सन पकाउने हुन लाईसक्यो नि । 
(कोल्टे फेर्छ ) तर हाम्रा बा साहसी त हुन आफुलाई भित्रभित्र केके कुराले पिरोल्या होला , कत्ति देखाउदैनन । पीडा दबाउन कसैले आफ्नो बाबाट सिकोस ।
(बिगत सम्झिन्छ )  ति बचपनका स्कुलका दिन क्या गज्जबका हुन्थे । स्कुलको छुट्टी घण्टीले, कक्षा कोठाबाट जहाजै छुट्ला जस्तो गरि दौडिन्थ्यौ , मोटर नचल्ने तर भन्नको लागि मोटरबाटोको फेरो समाएर दौडिदै आपको चौतारोमा पुगेर झोला बिसाइन्थ्यो र सुरु हुन्थ्यो कस्को बा कस्तो ? 
"हाम्रो बाले मलाई यो किन्दिनु भयो । "  शिवे गज्जक्क हुँदै बोल्थ्यो । 
शिवे मेरो बचपनको साथी थियो । नाम थियो शिव प्रसाद । तर गाउँमा काट्दा मिल्ने जतिको नाम काटेरै बोलाइन्थ्यो । शिव प्रसाद नामलाई काटेर बोलाउदा शिवे रह्यो । शिवेसंगको बाको लडाइँमा  म कहिल्यै हारिन ।
" मलाई झन बाबा बिदेशबाट आउदा कार ल्याइदिने रे " म कारको इशारा देखाएर शिवेलाई फुर्ती लाउथे । 
" मलाई पनि खेल्न देउ है " शिवे आफू बाहरुको प्रतिष्पर्धामा हारिहाल्थ्यो । म खुसीले छाती फुलाउथे । 
" तिमी र म मिलेर खेल्नपर्छ है ।" म उस्लाई आफ्नो टिममा सामेल गर्थे । अनि हामी हास्दै अगाँलो मारेर घर पुग्थ्यौ । मलाई जहिले बा बिदेशबाट कहिले आउनु होला भन्ने लाग्थ्यो । 
( मोबाइल हेर्दै , मनमनै) ओहो उठ्न पर्छ क्या अब त । राति सुत्ने बेलामा क्या छिटो उठ्छु भनेर प्लान गर्यो बिहान उहीँ ताल त हो मेरो पनि । उठेर योगा गरे पनि हुने नि । मन मस्तिष्क शान्त रहन्थ्यो , जिउ फुर्ति हुन्थ्यो । म सार्है अल्छी भए । यसरी त कसरी होला र ? 
हिजो मेरो बासंग यहीँ कुरामा झगडा परिराथ्यो । बाको कुरा छिटो उठ , दौडी , बिहानको ताजा हावा खा । मेरो कुरा अब त हजुर पनि छिटो उठ्नु पर्दैन आनन्दले आराम गर्दा हुने नि । यहीँ कुरामा लामो बहस भयो दुबै तर्फबाट बेतुकका तर्कहरु पेश भैरहे र अन्त्यमा आफुलाई जे मन छ त्यही गर्ने भन्ने कुरामा आएर बहस सकियो । 
सानोमा म बासंगै सुत्थे । मलाई जता गए पनि जतिबेला पनि बा नै चाहिन्थ्यो । हुन त बाले मलाई निकै माया गर्नुहुन्थ्यो । 
म सानो हुदा एकपटक मामाले मलाई प्रश्न सोध्नु भयो
 " बाबू तिम्लाई बा प्यारो लाग्छ कि आमा ?" 
" बा" मलाई उत्तर दिनको लागि सोच्नै पर्थेन  । 
"ए दिदी भान्जा त भिनाजुका पो प्यारा रैछन " मामा आमालाई सुनाउन पुग्नु हुन्थ्यो ।
बिदेशबाट फर्किदा बाले मलाई काधमा हालेर गाउँ डुलाउनुहुन्थ्यो । गाउँलेहरु मलाई हेरेर भन्थे "हेर त बाको काधमा चढेर कत्रो अग्लो भएछ यो सुदिप "
"हिहि " म हास्दिन्थे । 
मलाई बाको काध संसार लाग्थ्यो । मेरो बा मलाई हिरो लाग्थ्यो । 
( लामो सास तान्दै ) अहिले त्योबेला जस्तो माया नदेखाए पनि त बालाई  म अझै उस्तै माया गर्छु । तर देखाउन नसकिने रैछ । सानोमा काधमा बोकेर मलाई डुलाए जस्तो म बुढेसकालमा काध थाम्न सक्छु कि नाई कुन्नि ? 
( उठ्छ ) 
(बाको आवाज आउँछ )" शनिबारको दिन छिटो उठेर हिडे हुदैन एकछिन ?" 
" अनि हजुरचाही छिटो उठेर के गर्नुभयो , आनन्दले सुतेको भए हुन्थेन एकैछिन । सधैं यहीँ कुरा भनिरहन पर्ने हो ?"
" फेरि उठ्ने बित्तिकै सुरु भयो , शान्त बसे हुदैन एकछिन? " उताबाट आमाको आवाज आउँछ । 
वातावरण एकछिन शान्त रहन्छ । 

Comments

Popular posts from this blog

समय

कथा : रति ( भाग १)

सपना